तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेपछि दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार केहीबेर अघि स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् । महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते महर्जनलाई शुभम अस्पताल तथा वाग्लेलाई आर्मी अस्पतालमा उपचारका लागि लगिएको छ ।
हाल चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणका लागि वनको टोलीलाई बोलाइएको एसपी भट्टराईले जानकारी दिएका छन् ।