ओमप्रकाश सरार्फ ले पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. ११ को रानीघाट–श्रीपुर क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन् । अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै खानेपानी, सडक, ढल व्यवस्थापन र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
रानीघाट–श्रीपुर टोलमा आयोजित घरदैलो कार्यक्रमका क्रममा सरार्फले खानेपानी संकट समाधानका लागि पाइपलाइन विस्तार तथा व्यवस्थापन सुधार गर्ने योजना सार्वजनिक गरे । उनले ढल निकासको दीर्घकालीन समाधानसहित स्वच्छ र व्यवस्थित बस्ती निर्माण गर्ने लक्ष्य रहेको बताए ।
स्थानीयवासीले सडकको अवस्था सुधार, नियमित पानी आपूर्ति र युवालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग राखेका थिए । त्यसको प्रत्युत्तरमा सरार्फले पूर्वाधार विकाससँगै स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्वास्थ्य र शिक्षाको पहुँच विस्तार गर्दै सुशासन र पारदर्शितामार्फत दीर्घकालीन विकास योजना कार्यान्वयन गरिने बताए । “स्थानीय समस्याको दिगो समाधानका लागि जनताको प्रत्यक्ष सहभागिता आवश्यक छ,” उनले भने ।
पर्सा–१ मा चुनावी सरगर्मी बढिरहेका बेला जनमत पार्टीले विकास, सुशासन र आधारभूत सेवामा सुधारलाई मुख्य एजेन्डा बनाउँदै अभियानलाई तीव्रता दिएको छ ।