रामकिशोर सिंह ( पराग ) ले उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा वीरगंज महानगरपालिका वडा नम्बर ३२ स्थित परसवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा स्थानीयहरूले विगतका दल र उम्मेदवारहरूले विकास तथा रोजगारीका विषयमा आश्वासन मात्रै दिएको तर व्यवहारमा ठोस उपलब्धि नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरूले चुनाव नजिकिँदा युवालाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितेपछि बेवास्ता गर्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै यस पटक परिणाममुखी र सक्षम नयाँ उम्मेदवारलाई साथ दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागीहरूले कुलमान घिसिङ लाई काम गर्ने व्यक्तित्वका रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए ।
उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीयवासीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने वाचा गरे । उनले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिलाउने बताए ।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्रीय विकासका मुद्दा सशक्त रूपमा उठाउने उनको भनाइ थियो ।
कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए ।