पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगंज महानगरपालिका – ११ स्थित श्रीपुरमा भएको घटनाका दोषी पक्षलाई कानुनी दायरामा ल्याउने सहमति गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो । साथै दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले सहजीकरण गर्ने सहमति भएको प्रजिअ दाहालले जानकारी दिए ।
बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा घृणा फैलाउने अभिव्यक्ति प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।
आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बैठकमा सहभागी नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट संयमता अपनाउने तथा आवश्यक विज्ञप्ति जारी गर्ने सहमति भएको छ ।
पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।