पर्सा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुशील कुमार कानुको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
उम्मेदवार कानुको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. २४ को रमगढवा तथा वडा नं. २५ को सिरिसियामा व्यापक रूपमा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार लगायतका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गरे । उनले जनताको विश्वास र समर्थनका आधारमा स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी व्यवस्था, ढल निकास, कृषि क्षेत्रको आधुनिकीकरण तथा साना व्यवसाय प्रवर्द्धन जस्ता समस्याबारे उम्मेदवारसमक्ष ध्यानाकर्षण गराएका थिए । ती विषयलाई प्राथमिकताका साथ अघि बढाउने कानुले आश्वासन दिएका छन् ।
रास्वपाले पर्सा क्षेत्र नं. २ मा चुनावी गतिविधिलाई तीव्रता दिएको जनाएको छ ।