नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले मङ्गलवार वीरगंज महानगरपालिका–३२ टेढा गाउँका विभिन्न टोलहरूमा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका क्रममा उनले स्थानीयवासीहरूको घर–घर पुगेर प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डताको रक्षा गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
“जेन–जी आन्दोलनपछि देशमा शून्यता सिर्जना भएको थियो । त्यसबेला एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले चट्टानी अडान लिएर विदेशी हस्तक्षेपको खुला विरोध गर्नुभयो,” उनले भने, “अब पनि देशलाई सही दिशामा अघि बढाउन र राष्ट्रिय स्वाधीनता जोगाउन एमालेको नेतृत्व अपरिहार्य छ । त्यसैले सूर्य छापमा मतदान गर्नुहोस् ।”
यादवले आफ्नो दुई कार्यकालमा पर्सा जिल्लामा उल्लेखनीय विकास भएको दाबी गरे ।
“म निर्वाचित हुनुभन्दा अगाडिको पर्सा र अहिलेको पर्सामा जमिन–आकाशको अन्तर छ,” उनले भने, “सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ र विद्युत् क्षेत्रमा व्यापक प्रगति भएको छ । पुनः निर्वाचित भएपछि बाँकी विकास निर्माणका कामलाई तीव्रता दिनेछु ।”
उनले आगामी योजनाअन्तर्गत युवा बेरोजगारी घटाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने, कृषि र पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीयस्तरमा उद्योग स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता जनाए ।
प्रतिद्वन्द्वी उम्मेदवारहरूप्रति टिप्पणी गर्दै उनले अन्य दलका उम्मेदवारहरू गैर–राजनीतिक पृष्ठभूमिबाट आएको दाबी गरे । “उनीहरू चुनावका बेला मात्र देखिन्छन् । म निरन्तर जनतासँग जोडिएको छु,” उनले भने ।
घरदैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ता, युवा, महिला, ज्येष्ठ नागरिकलगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।