परोपकारी संस्था उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका–१४ नयाँ टोल, मुर्लीका ३० जना युवती तथा महिलालाई सिलाई–कटाई सम्बन्धी सीपमूलक तालिम प्रदान गरेको छ ।
युवती र महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ संस्थाले दुई महिने तालिम सञ्चालन गरेको जनाएको छ । तालिम अवधिमा सहभागीहरुलाई सिलाई–कटाईका आधारभूत तथा उन्नत सीप, लुगा डिजाइन तथा मर्मतसम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो ।
तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले दुई महिने तालिमले युवतीहरुलाई स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिन् । तालिमपछि घरमै बसेर वा टेलर्स पसलमा काम गरी आफ्नो आर्थिक अवस्था सुदृढ बनाउन सकिने उनले बताइन् ।
समापन कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, संस्थाकी अभिभावक पदमादेवी सरावगी, सदस्य सुमन बगेडियारलगायतको उपस्थिति रहेको थियो । संस्थाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।