राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियान तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
बिहीबार उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर अशोकवाटिका र घडिअर्वा पोखरी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरे । उक्त क्षेत्रमा स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । पूर्व वडाध्यक्ष समेत रहेका कानुले टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद गर्दै मतदाताका समस्या सुने ।
घरदैलोका क्रममा उनले वीरगञ्जलाई कुशासनमुक्त बनाउने र व्यवसायमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन । अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ । पर्सा देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक जिल्ला हो, तर निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण विकास पछाडि परेको छ ।”
कानुले क्षेत्रको सडक, पूर्वाधार, व्यापार–व्यवसायको जीर्ण अवस्था औँल्याउँदै, निर्वाचित भएपछि संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर योजनाबद्ध विकास अघि बढाउने योजना रहेको बताए। विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठूला विकास आयोजनाहरू सञ्चालन गर्ने उनको दाबी छ ।
उहाँले मतदातालाई यसपटक पनि रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरेर परिवर्तनको पक्षमा उभिन आग्रह गरे । “पछिल्लो पटक माया गर्नुभयो, यस पटक पनि घण्टीमा मत दिएर नयाँ युग सुरु गरौँ,” कानुले भने ।
स्थानीय स्तरमा राम्रो जनसम्पर्क र वडाध्यक्षकालमा खानेपानी समस्या समाधान जस्ता कामका लागि चर्चित कानुले घरदैलो अभियानमार्फत युवा तथा व्यवसायीहरूको समर्थन बढाउँदै लगेका छन् । पर्सा–२ मा रास्वपाको ‘घण्टी’ प्रती बढ्दो आकर्षण देखिएको छ ।
यो अभियानले क्षेत्रका समस्या र विकासका मुद्दा मतदातासमक्ष पुर्याउने साथै नयाँ राजनीतिक विकल्पको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।