वीरगंज महानगरपालिका वडा नं. १५ (लक्ष्मणवा) मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ । रुङटा स्थानीय टोल–टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट, संवाद र घरदैलो कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन् ।
उनी नागरिकका गुनासा, सुझाव र अपेक्षा सुन्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले लक्ष्मणवामा चुनावी माहोल उत्साहपूर्ण बनेको देखिएको छ ।
वडा नं. १५ का विभिन्न टोलमा पुगेका रुङटाले समृद्ध वीरगन्ज निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले आफ्नो क्षेत्रको दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुङटाप्रति समर्थन जनाएका छन् ।
त्यसैगरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने उनले बताए । उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना–मझौला उद्यम प्रवर्द्धन र महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए । “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन । घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ,” उनले भने ।
रुङटाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने जानकारी दिएका छन् । आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।