बारा जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साह ले कलैया उपमहानगरपालिका अन्तर्गत कलैया गाउँ, राजदेवी टोल, देवकोटा चोक लगायत विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
घरदैलोका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताका समस्या, अपेक्षा र सुझाव सुने । उनले बाराको समग्र विकासका लागि स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि आधुनिकीकरण तथा साना–घरेलु उद्योगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सके युवाहरूको वैदेशिक पलायन कम हुने उनको भनाइ थियो ।
साहले सडक, ढल, खानेपानी, विद्युत् तथा शहरी पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीचको विकास अन्तर घटाउने योजना अघि सार्ने उनले उल्लेख गरे ।
युवालाई लक्षित सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधिमैत्री अवसर सिर्जना गर्ने आफ्नो मुख्य एजेन्डा रहेको साहको भनाइ थियो । साथै, नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण, पारदर्शिता र सुशासन कायम गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले जनाए ।
घरदैलोका क्रममा स्थानीयवासीले सडक स्तरोन्नति, कृषि बजार व्यवस्थापन, रोजगारीका अवसर वृद्धि तथा आधारभूत सेवासुविधा सुधारको आवश्यकता औंल्याएका थिए । उम्मेदवार साहले जनताका सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै क्षेत्रको दिगो विकासका लागि काम गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।