जिल्ला प्रहरी कार्यालय बाराले आसन्न होली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा विशेष अनुरोध गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पर्वका नाममा उच्छृङ्खल गतिविधि नगर्न र कानुनको उल्लंघन हुने कुनै पनि कार्य नगर्न सचेत गराएको हो ।
प्रहरीका अनुसार होली आपसी सद्भाव, भाईचारा र खुसी साटासाट गर्ने पर्व भएकाले कसैको इच्छा विपरीत रङ, लोला, मोबिल, केमिकल वा फोहोर पदार्थ फाल्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ । साथै, ध्वनि प्रदूषण हुने गरी अत्यधिक चर्को आवाजमा साउन्ड सिस्टम नबजाउन र असभ्य तथा अनुशासनहीन व्यवहार नगर्न पनि अनुरोध गरिएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा पैदल यात्रुहरूमाथि कुनै पनि प्रकारको करकाप, दुर्व्यवहार वा जबर्जस्ती नगर्न प्रहरीले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भ्रम फैलाउने, उत्तेजना पैदा गर्ने वा साम्प्रदायिक सद्भाव खल्बल्याउने खालका सामग्री पोष्ट नगर्न तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्न समेत प्रहरीको जोड रहेको छ ।
होली पर्वका अवसरमा गाँजा, भाङ तथा अन्य कुनै पनि प्रकारका नशालु पदार्थको सेवन, बिक्री तथा वितरणमा कडा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
यसैबीच, आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय बाराले मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ ।
प्रहरीले कुनै पनि अवाञ्छित वा आपराधिक गतिविधि भएको जानकारी पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय बाराको मोबाइल नम्बर ९८५५०४५१०१ मा सम्पर्क गरी सूचना दिन सर्वसाधारणमा अनुरोध गरेको छ ।