जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि सीमित उम्मेदवारहरूले मात्रै खर्च विवरण बुझाएका हुन् । उनले विवरण बुझाउने क्रम जारी रहेको बताए ।
निर्वाचन खर्च विवरण बुझाउन ३५ दिनको समयसीमा रहे पनि हालसम्म विवरण बुझाउने र नबुझाउने उम्मेदवारहरूको नाम गोप्य राखिएको निर्वाचन अधिकारी चौधरीले जानकारी दिए । उनका अनुसार निर्धारित समयसीमा समाप्त भएपछि मात्र उम्मेदवारहरूको नाम सार्वजनिक गरिनेछ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराका चारवटै क्षेत्रमा ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चारै क्षेत्रमा विजय हासिल गरेको थियो ।
जसअनुसार क्षेत्र नम्बर १ बाट गणेश धिमाल, क्षेत्र नम्बर २ बाट चन्दनकुमार सिंह, क्षेत्र नम्बर ३ बाट अरविन्द साह र क्षेत्र नम्बर ४ बाट रहबर अन्सारी निर्वाचित भएका छन् ।