वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार, भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई वीरगन्ज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरिएको थियो ।
जाँचका क्रममा मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६ सय बरामद भएको छ । बरामद रकमको स्रोत तुराहाले स्पष्ट गर्न नसकेपछि सशस्त्र प्रहरीले उनलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।