सप्तरीको रुपनी गाउँपालिका-४ छपकीमा चार घण्टाको अन्तरालमा दम्पतीको मृत्यु भएको छ ।
स्थानीय ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय श्रीमती दुर्गीवती सदाको निधन भएको हो । रुपनी गाउँपालिका–४ का वडाध्यक्ष छेदी इसरका अनुसार शनिबार राति २ बजे फुलेश्वरको मृत्यु भएको थियो भने बिहान ६ बजे दुर्गीवतीको मृत्यु भएको थियो । करिब चार घण्टाको अन्तरालमा दम्पतीको निधन भएको वडाध्यक्षले जानकारी दिए ।
दुर्गीवती केही दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा हर्नियाको अपरेसन गरी घर ल्याइएको थियो । स्वास्थ्य अवस्था कमजोर रहेकाले फुलेश्वरले उनलाई नियमित निगरानी गर्दै आएको वडाध्यक्षले बताए ।
दम्पतीको शव उनीहरूको जातीय परम्पराअनुसार गाउँ नजिकै अन्त्यष्टी गरिएको स्थानीयहरूले जनाएका छन् ।