शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि आजदेखि देशभर मौसममा क्रमिक सुधार आएको छ ।
मौसमविद् विभूति पोखरेल का अनुसार गएरातिदेखि नै मौसममा सुधार देखिएको छ र आज हिजो–अस्तिको जस्तो लगातार वर्षा हुने सम्भावना छैन ।
उनका अनुसार प्रि – मनसुनका गतिविधि भने अझै कायम रहनेछन् । यस अवधिमा घाम लाग्ने, फेरि बदली हुने क्रम जारी रहनेछ । तत्काल ठूलो तथा लामो समयसम्म पानी पर्ने सम्भावना नरहेको उनले बताए ।
आज देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव कायम रहेको मौसमविद्हरूले बताएका छन् ।