दुई दिन लगातार भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरू मर्कामा परेको बताएका छन् ।
घाममा सुकाउन राखिएका इँटाहरू शुक्रवार र शनिबारको वर्षाले भिजेर गलेपछि व्यवसायीहरू आर्थिक क्षतिमा परेका हुन् । शम्भुनाथ नगरपालिका–४ स्थित न्यू काली माँ पंडित इँटा उद्योगका सञ्चालक कृष्णदेव पंडितका अनुसार, घाममा सुकाउन राखिएको करिब १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको छ । जिल्लामा सञ्चालनमा रहेका ४५ वटा इँटा उद्योग पनि यस्तै समस्यामा रहेका छन् ।
पंडितले भने, “एउटा काँचो इँटा बनाउन प्रति इँटा ४ रुपैयाँ ३८ पैसा खर्च हुन्छ । यस्तो हिसाबले जिल्लाका सबै इँटा उद्योगमा करोडौंको क्षति भएको छ ।”
उहाँले थपे कि, सरकारी नीतिका कारण वर्षेनी इँटा उद्योगीहरूले यस किसिमको क्षति बेहोर्दै आएका छन् । पंडितले सुझाव दिए कि, मंसिर १ देखि भटमा आगो सल्काउन दिइने र चैत १ गते बन्द गर्ने नीति लागू नहुँदासम्म उद्योगीहरूले यस्तो आर्थिक पीडा भोग्नुपर्ने अवस्था रहिरहनेछ ।