गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीय र प्रहरीले हुलाकी सडक अवरुद्ध गर्ने क्रममा झडप भएको छ ।
भारतीय सीमाबाट लागुऔषध भित्रिनुमा आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टका अनुसार, स्थानीयले लगातार ढुंगा प्रहार गरेपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रयोग गरेको थियो । झडपमा ११ जना प्रहरीसहित केही स्थानीय घाइते भएका छन् ।
प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएको र उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । घटनास्थलबाट ७ जनालाई नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको छ । स्थानीयका अनुसार भारततर्फबाट विशेषगरी ‘ब्राउन सुगर’ र ‘कोरेक्स’ जस्ता लागुऔषधको ओसारपसार बढ्दै गएको छ । यसको प्रभावका कारण दुई जनाको मृत्यु भएको भन्दै उनीहरू प्रदर्शनमा उत्रेका थिए ।
सीमावर्ती नाका लौकही हुँदै हुने लागुऔषध कारोबार पूर्ण रूपमा रोक्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा झडप भएको हो। प्रहरीका अनुसार अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।