वीरगंज | पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले मधेशको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर आफ्नो मातृभाषा भोजपुरीमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
आज बिहीबार सिंहदरबार मा आयोजित नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रममा सांसद कानु परम्परागत पहिरनमा उपस्थित भई भोजपुरी भाषामै शपथ ग्रहण गर्ने तयारीमा रहेका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित भएका थिए ।
सांसद कानुले आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन् । संसद् भवन प्रवेश गर्ने पहिलो दिन नै मौलिक पहिरनमा उपस्थित हुने उनको तयारीले मधेसको सांस्कृतिक पहिचानलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्देश दिएको छ ।
उनले भने, “संसद् भवनमा पहिलो दिन आफ्नो समुदायको पहिचान झल्काउने पोशाक लगाएर मातृभाषामा शपथ लिनु मेरो लागि गौरवको विषय हो। यसले हाम्रो भाषा र संस्कृतिको संरक्षणमा टेवा पुर्याउँछ ।”
नेपालको संविधानले प्रतिनिधिसभा सदस्यलाई आफ्नो मातृभाषामा शपथ लिने व्यवस्था गरेको छ। सोही संवैधानिक अधिकार प्रयोग गर्दै कानुले भोजपुरी भाषामा शपथ लिन लागेका हुन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार संघीय संरचनामा विविध भाषा र संस्कृतिको प्रतिनिधित्व सुदृढ बनाउनु आवश्यक छ । कानुको यो कदमले मधेस क्षेत्रका भाषा, भेषभूषा र पहिचानलाई राष्ट्रिय राजनीतिमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि केही सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिने परम्परा सुरु गरिसकेका छन्। पछिल्लो समय स्थानीय पहिचान र संस्कृतिलाई प्राथमिकता दिने अभ्यास बढ्दो क्रममा रहेको देखिन्छ ।
सांसद कानुको यस निर्णयले मधेसको मौलिक भाषा, संस्कृति र पहिचानलाई संसदीय मञ्चमा अझ सशक्त रूपमा उठान गर्ने विश्वास गरिएको छ ।