अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ ।
सोही अभियानअन्तर्गत प्रहरीले लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाइबाट खटिएको संयुक्त टोलीले बिहीबार विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ७ जना र चालु मुद्दामा संलग्न २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव (किर्ते जालसाजी) १ हजार रुपैयाँ जरिवाना, अनुकुल गुप्ता (चोरी) १ हजार रुपैयाँ जरिवाना, विजय चौधरी (जुवा) २ हजार रुपैयाँ जरिवाना, कल्पना चौधरी (नाताकायम) १ हजार २५० रुपैयाँ जरिवाना तथा सुकुन्ती देवी (गाली बेइज्जती) २५ रुपैयाँ जरिवाना तोकिएका व्यक्ति रहेका छन् ।
त्यसैगरी जलसी देवी कुर्मी (देहानी) लाई ३०० रुपैयाँ जरिवाना तथा प्रेम यादव (अपराधिक उपद्रव) लाई २ वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।यसैगरी चालु मुद्दाअन्तर्गत ज्यान मार्ने उद्योग मुद्दाका हदयलाल राय यादव र मिटरब्याज सम्बन्धी मुद्दाका नरेन्द्र राय यादवलाई समेत पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न रौतहट जिल्ला अदालतमा बुझाइएको छ ।
प्रहरीले पछिल्लो समय फरार प्रतिवादी खोजी अभियानलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सक्रियता बढाएको जनाएको छ ।