नवनियुक्त मन्त्रीले पदबहाली गर्ने दिन कुनै निर्णय सार्वजनिक गर्नु परम्परा जस्तै बनिसकेको छ । स्वास्थ्य मन्त्रालयमा पद समालेसँगै नयाँ प्राथमिकता देखाउने चलन लामो समयदेखि देखिँदै आएको पनि हो । तर यसपटक भने स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न आइपुगेकी मन्त्री निशा मेहताले उक्त अभ्यासलाई तोडिन् ।
मन्त्रालयमा आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा मन्त्री मेहताले आफू नर्सिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै स्वास्थ्य सेवामा जनताको पहुँच विस्तार गर्नु मुख्य लक्ष्य रहेको सुनाइन् ।
‘मेरो उद्देश्य आम नागरिकले सहज रूपमा उपचार सेवा पाउन् भन्ने हो,’ मन्त्री मेहताले भनिन् ।
‘उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनेर काम गर्नेछु ।’
स्वास्थ्य सेवामा काम गरिसकेको अनुभवका आधारमा आफ्ना प्राथमिकता पनि स्पष्ट गरिन् ।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति विदेश पलायन हुनु अर्को ठूलो चुनौती बनेको पनि औँल्याइन् ।
चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई देशमै काम गर्न उत्प्रेरित गर्ने वातावरण बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
‘अहिले धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी विदेश गइरहेका छन् । उनीहरूका लागि पर्याप्त मोटिभेसनल फ्याक्टर छैन,’ मन्त्री मेहताले भनिन् ।
‘स्वास्थ्यकर्मीलाई देशमै बसेर काम गर्न सक्ने वातावरण बनाउनु आवश्यक छ ।’
मन्त्री मेहताका अनुसार धेरै नर्सहरूले विशेषज्ञता र उच्च अध्ययन गरे पनि उनीहरूलाई सोही अनुसारको अवसर प्राप्त नभएको अवस्था छ ।
‘धेरै नर्सहरूले मास्टर्स वा विभिन्न स्पेसियलिटी गरेका छन्, तर त्यसअनुसारको अवसर पाउन सकेका छैनन्,’ मेहताले भनिन् । ‘त्यस्तै चिकित्सकहरूमा पनि कामको सन्तुष्टि र पारिश्रमिक सम्बन्धी समस्या देखिन्छ ।’
स्वास्थ्यकर्मीहरूलाई सन्तुष्ट बनाउन सके मात्रै उनीहरूले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सक्ने उनले बताइन् ।
‘हाम्रो प्राथमिकता जनतालाई सेवा दिने हो, तर त्यसका लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने मानव संसाधनलाई पनि सन्तुष्ट बनाउनु आवश्यक छ ।’
स्वास्थ्य क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै मन्त्री मेहताले तत्कालै कुनै निष्कर्षमा नपुग्ने बताइन् ।
उनी पहिले मन्त्रालयका काम, समस्या र प्राथमिकताहरू अध्ययन गर्ने बताइन् ।
‘स्वास्थ्य क्षेत्र निकै ठूलो छ र धेरै पक्षहरू छन्,’ उनले भनिन् ।
‘अहिले धेरै कुरा बुझ्न बाँकी छ । अलि राम्रोसँग बुझेर मात्रै निर्णयमा हस्ताक्षर गर्नेछु ।’
नसर्ने रोग भयावह बन्दै गएको सन्दर्भ जोड्दै मेहताले रोग लागेपछि उपचारभन्दा रोकथामका उपायमा केन्द्रित हुने बताइन् । ‘स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिले रोग लाग्नै नदिने उपायमा बढी ध्यान दिनुपर्छ,’ उनले भनिन् ।
‘त्यसतर्फ केन्द्रित भएर काम गर्न आवश्यक छ ।’ त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिद प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि आफ्नो ध्यान रहने बताइन् । नेपालमा नयाँ उपकरण खरिदमा प्राथमिकता दिइने भए पनि मर्मत – सम्भारका लागि पर्याप्त बजेट नछुटाउँदा समस्या देखिएको उनको भनाइ छ ।
‘नयाँ खरिद गर्नलाई प्राथमिकता दिन्छौँ, तर मर्मतका लागि बजेट नै हुँदैन ।’ ‘मर्मत गरेर पनि धेरै मेसिनहरू चलाउन सकिन्छ। त्यसतर्फ ध्यान दिन्छु,’ मन्त्री मेहताले भनिन् ।