नवनियुक्त प्रधानमन्त्री बालेन शाहले सरकारी कर्मचारीहरूलाई कुनै पनि बहाना बनाएर काममा ढिलाइ नगर्न स्पष्ट निर्देशन दिएका छन् ।
शुक्रबार शपथ ग्रहण गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीहरूलाई आफ्नो सरकारको “स्पिरिट” समात्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले भनेका छन्,
“जसरी हामीले सरकार गठन गरेका छौं र अघि बढ्न खोजेका छौं, तपाईंहरूले पनि त्यही स्पिरिट समात्नुपर्छ। नियम कानुन परिवर्तन गर्नुपर्ने अवस्था आएमा पनि कुनै बाहाना नबनाइ कार्य अगाडि बढाउन सकिन्छ ।”
उनले कर्मचारीहरूलाई सरकारी कामकाजमा जिम्मेवारीपूर्वक र ढिलाइ बिना काम गर्न प्रोत्साहित गर्दै, “हरेक कर्मचारीले आफ्नो भूमिका समयमै पूरा गर्नुपर्छ र प्रक्रियामा ढिलाइ गर्नु स्वीकार्य छैन” पनि बताए ।
एक सचिवले अनलाइनखबरसँग भने,
“प्रधानमन्त्रीले कर्मचारीहरूलाई कुनै पनि विषय देखाएर ढिलाइ नगर्न निर्देशन दिएका छन् । उहाँको सम्बोधन करिब पाँच मिनेट मात्र चलेको थियो ।”
प्रधानमन्त्री शाहले यस अवसरमा नवनियुक्त मन्त्रीहरूसँग छोटो ब्रिफिङ पनि गरेका थिए। सरकारी कर्मचारी र मन्त्रीहरूबीचको उक्त बैठक छोटो भए पनि प्रभावकारी भएको बताइएको छ ।
प्रधानमन्त्रीको यस निर्देशलाई कर्मचारीहरूले सकारात्मक रूपमा लिएका छन् र सरकारको द्रुत र प्रभावकारी कामकाज सुनिश्चित गर्ने लक्ष्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।