देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि मधेश प्रदेश भर उच्चस्तर सुरक्षा सतर्कता अपनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय को निर्देशनअनुसार मधेशका सबै जिल्लामा ‘हाइ अलर्ट’ जारी गरी प्रहरी परिचालन तीव्र बनाइएको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया का अनुसार शनिबार बिहानदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाइ अलर्टमा बस्न सर्कुलर जारी गरिएको छ ।
उनी भन्छन्, “बिहानको निर्देशनपछि ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग समन्वय गरी व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । राजनीतिक गतिविधिबारे सूचनाहरू संकलन गर्ने र आवश्यक परे तत्काल प्रतिक्रिया दिने तयारीमा हामी छौं ।”
मधेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लामा करिब १० हजारभन्दा बढी प्रहरी परिचालित गरिएको छ । साथै, आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ ।
प्रहरीका अनुसार भदौ महिनामा भएको जेनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा उच्चस्तरीय गिरफ्तारी भएपछि विरोध प्रदर्शन र आन्दोलनका कार्यक्रम हुन सक्ने आकलन गरिएको छ । यसैलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा निगरानी अझ कडा पारिएको छ ।