नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) बारा जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा बाराको सदरमुकाम कलैयामा प्रदर्शन गरेको छ ।
जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेको नेतृत्वमा आयोजित प्रदर्शनपछि एमालेका नेताकार्यकर्ताले जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई विरोधपत्र बुझाएका छन् ।
विरोधपत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति रहेको उल्लेख गरिएको छ । उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा न्यायिक सिद्धान्तविपरीत रहेको एमालेको ठहर छ ।
एमालेले सोही प्रतिवेदनका आधारमा आफ्ना पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री लेखकलाई गरिएको पक्राउ गैरकानुनी, पूर्वाग्रही र लोकतान्त्रिक मूल्यविपरीत भएको जनाएको छ ।
पार्टीले दुवै नेताको तत्काल रिहाइको माग गर्दै भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।