भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) ले बारा जिल्लासँग जोडिएको नेपाल – भारत सीमा क्षेत्रमा ठुलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा सशस्त्र सीमा बल ( एसएसबी ) ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनीले महुआवाले छौदादानो थाना सँग संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।
उक्त अपरेसनका क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट ओनेरेक्स कफ सिरप बरामद भएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारी ले जानकारी दिएका छन् । गाडिबाट १०० एमएलको ८४० फाइल ओनेरेक्स सिरप फेला परेको छ ।
बरामद सामग्री भारतबाट नेपालतर्फ तस्करी गर्दै ल्याउँदै गरेको अवस्थामा फेला परेको जनाइएको छ । बरामद स्थल सीमास्तम्भ ( आईएनबी ) बीपी नम्बर ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्दछ ।
घटनामा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ–३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेका छन्, एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता विनीत कुमार सिंह ले बताए ।