जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको जनाएको छ ।
कार्यालय प्रमुख वेचनकुमार साह का अनुसार उक्त अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको ८,१५८ मेट्रिकटन युरिया, रु २९ करोड ७९ लाख ७ हजार बराबरको ६,३२० मेट्रिकटन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बराबरको १८८ मेट्रिकटन पोटास बिक्री गरिएको छ ।
धनुषा र महोत्तरी जिल्लामा कार्यालयले सम्बन्धित पालिकाको सिफारिसमा किसानहरूलाई रासायनिक मल वितरण गर्दै आएको छ । यी दुई जिल्लाका २७ पालिकामा २१२ वटा आधिकारिक डिलरमार्फत मल बिक्री भइरहेको छ ।
कार्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार हाल गोदाममा १,१९२ मेट्रिकटन युरिया, ८३८ मेट्रिकटन डिएपी र ३६१ मेट्रिकटन पोटास मौज्दात रहेको छ । हालको सिजनका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।
प्रमुख साहका अनुसार केही पालिकाहरूले किसानका लागि छुट्याइएको मल लिन नआएको अवस्था पनि रहेको छ । गत आर्थिक वर्षमा भने सो कार्यालयले करिब रु ३५ करोड बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो।
यता धनुषा र महोत्तरीका सीमावर्ती क्षेत्रका किसानहरूले भारतीय सीमाबाट समेत रासायनिक मल खरिद गरी ल्याउने गरेको पाइएको छ ।