बालेन सरकार तथा सुरक्षा निकायको समर्थनमा जेनजी युथ अफ बाराका युवाहरूले कलैयामा सद्भावपूर्ण मोटरसाइकल र्याली निकालेका छन् ।
संयोजक सौरभ पाण्डेको नेतृत्वमा निकालिएको र्याली कलैया दरबार रोडबाट सुरु भई भरत चोक, बालमन्दिर, श्री ३ चन्द्र रोड, देवकोटा चोक, गुप्ता पेट्रोल पम्प हुँदै बजार क्षेत्रको परिक्रमा गरिएको थियो ।
र्यालीमा सहभागीहरूले शान्ति, सुशासन तथा भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने नाराहरू लगाएका थिए । साथै सरकारका सकारात्मक कार्यको समर्थन गर्दै सुरक्षा निकायको छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो ।
संयोजक पाण्डेका अनुसार र्यालीमार्फत देशमा शान्ति कायम गर्ने, भ्रष्टाचारविरुद्ध कडाइ गर्न माग गर्ने तथा सरकार र सुरक्षा निकायको मनोबल बढाउने लक्ष्य राखिएको हो ।
र्यालीमा सौरभ चौगाई, सुरज साह, संजय चौधरी, प्रशान्त यादव, आनन्द गुप्ता, रोहित पटेल, अशोक पाण्डे, सुरज खनाल, लालु गुप्ता, एजाजुल अंसारीलगायत जेनजी युथ अफ बाराका पदाधिकारी तथा युवाहरूको सहभागिता रहेको थियो ।