प्रधानमन्त्री बालेन शाहले बुधबार मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरेका छन् । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले यसअघि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदसँग भेट गरिसकेका छन् ।
बुधबारको भेटमा मधेश प्रदेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए। ३० जना सांसदमध्ये एकजना कांग्रेसबाट निर्वाचित र बाँकी सबै रास्वपा सांसद थिए ।
प्रधानमन्त्री कार्यालयले १२ बजे बोलाएको बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो। बैठकको उद्देश्य बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामबारे छलफल गर्नु रहेको थियो । बैठकको सुरुवातमा प्रधानमन्त्री कार्यालयका असिम शाहले छोटो ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री बालेन शाह बैठकमा प्रवेश गरी सांसदहरूसँग छलफल गर्न थाले ।
सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका मुख्य समस्याहरू प्रस्तुत गरे । उठाइएका विषयहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण, सडक–पुल जस्ता पूर्वाधार निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या, कोभिडकालमा बन्द गरिएका साना भन्सार पुन: खोल्ने र सीमा व्यवस्थापनका विषय मुख्य थिए ।
मिटरब्याज पीडितहरूको समस्या, ऐलानी तथा मन्दिर सम्बन्धी जग्गा, हुलाकी राजमार्ग, सिडिओ र मालपोत कार्यालयका सेवासम्बन्धी समस्या, र प्रदेशस्तरका ठूला भ्रष्टाचारका फाइलहरूको छानबिनसमेत बैठकमा उठाइएको थियो ।
बैठकमा कुनै सवाल–जवाफ वा प्रश्नोत्तर भने भएन । सबै सांसदहरूले दुईदेखि पाँच मिनेटसम्म आफ्नो कुरा राखे । प्रधानमन्त्री बालेन शाहले सुरु र अन्त्यमा गरी जम्मा पाँच मिनेटमात्र आफ्नो कुरा राखेर छलफलको समापन गरेका थिए ।
प्रधानमन्त्रीले बैठकको अन्त्यमा भने, “कुन मन्त्रालयको जिम्मेवारीमा पर्छ, त्यहीअनुसार समाधान गर्ने प्रयास गर्छौँ र छोटो अवधिमा गर्न सकिने कामहरू छिट्टै अघि बढाउँछौँ ।”
सांसदहरूले उठाएका धेरै मुद्दा दोहोरिएका भए पनि, आवश्यक दस्तावेज सचिवालयमा बुझाउनुपर्ने अनुरोध पनि प्रधानमन्त्रीले गरेका थिए ।