सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको विरोधमा भूसेवा प्रयोगकर्ता तथा कानुनी लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
सर्लाहीको हरिवनस्थित मालपोत र नापी कार्यालयमा व्यवसायीहरूले सेवा ठप्प पारेका छन् । आफूहरूलाई सरकारले विनाकारण बिचौलिया भनेर अपमान गरेको र कार्यालय परिसरभित्र प्रवेश निषेध गरिएको भन्दै हरिवनका सम्पूर्ण लेखापढी व्यवसायीहरूले आन्दोलन थालेका हुन् ।
उनीहरूले आफ्ना सटरहरू पूर्ण रूपमा बन्द गर्दै विरोध जनाएका छन् । व्यवसायीहरूले सेवा अवरुद्ध गरेपछि मालपोत तथा नापी कार्यालयका सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
जग्गा प्रशासनसँग सम्बन्धित जग्गा किनबेच, रोक्का तथा फुकुवालगायतका सेवाहरू ठप्प हुँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारीले लेखापढी व्यवसायीलाई कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण भएको बताएका छन् ।
उनका अनुसार, “हामी कानुनबमोजिम काम गर्ने व्यवसायीलाई बिचौलियाको ट्याग लगाएर कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण छ । यसको विरोधस्वरूप हामीले सटर बन्द गरी आन्दोलन गर्न बाध्य भएका हौँ ।”
व्यवसायीहरूले आफूहरूको सम्मानजनक उपस्थिति र सहज कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।