सर्लाही | सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको विरोधमा भूसेवा प्रयोगकर्ता तथा कानुनी लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सर्लाहीको हरिवनस्थित मालपोत र नापी कार्यालयमा व्यवसायीहरूले सेवा ठप्प पारेका हुन् ।
आफूहरूलाई विनाकारण बिचौलिया भनेर अपमान गरिएको र कार्यालय हाताभित्र प्रवेश निषेध गरिएको भन्दै हरिवनका सम्पूर्ण लेखापढी व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन्। उनीहरूले ‘हामी बिचौलिया होइनौँ’ भन्दै आफ्ना सटरहरू पूर्ण रूपमा बन्द गरेर विरोध जनाएका छन् ।
व्यवसायीहरूले सेवा बन्द गरेपछि जग्गा प्रशासनसँग सम्बन्धित मालपोत र नापी कार्यालयका सम्पूर्ण कामकाज प्रभावित भएका छन् । जग्गा किनबेच, रोक्का, फुकुवालगायतका सेवाका लागि आएका सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।
स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारीले लेखापढी व्यवसायीलाई कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण भएको बताएका छन् ।
उनले भने, “हामी कानुनबमोजिम काम गर्ने व्यवसायीलाई बिचौलियाको ट्याग लगाएर कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण छ । यसैको विरोधमा हामीले सटर बन्द गरी आन्दोलन गर्न बाध्य भएका हौँ ।”
व्यवसायीहरूले सम्मानजनक उपस्थिति र सहज कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने अडान व्यक्त गरेका छन् ।