जनकपुरधाम | मधेस प्रदेश सभाका सदस्यहरूले संघीय सरकारले विकास र शान्ति सुरक्षाभन्दा व्यक्तिगत प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएका छन् ।
प्रदेश सभाको बैठकमा बोल्दै सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष अनुसन्धान नभई राजनीतिक प्रतिशोध साध्नु रहेको दाबी गरे । प्रदेश सभा सदस्य हरिनारायण यादवले बालेन शाह नेतृत्वको संघीय सरकारले ‘जेनजी आन्दोलन’को नाममा गठन गरिएको छानबिन समितिलाई व्यक्तिगत प्रतिशोधको माध्यम बनाएको आरोप लगाए ।
उनले गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनलाई आधार बनाएर विभिन्न दलका नेतामाथि झुटा मुद्दा लगाई कारबाही गर्ने प्रयास भइरहेको बताए । यसले देशको शान्ति सुरक्षा खलबलिन सक्ने चेतावनीसमेत उनले दिए । यादवले कांग्रेस र एमालेका नेतामाथि झुटा मुद्दा लगाइए भविष्यमा अन्य सरकारहरूले पनि त्यही अभ्यास दोहोर्याउन सक्ने अवस्था सिर्जना हुने बताए ।
त्यसैगरी अर्की प्रदेश सभा सदस्य सुरिता शाहले संघीय सरकारले शान्ति सुरक्षा कायम गर्नुभन्दा व्यक्तिगत प्रतिशोधमा केन्द्रित भएको आरोप लगाइन्। उनले संघीय सरकार मधेसविरोधी रहेको दाबी गर्दै समावेशी सहभागिताको विषय उठाइन् ।
अर्का सदस्य रामसरोज यादवले संघीय सरकार विदेशी प्रभावमा काम गरिरहेको आरोप लगाए । उनले ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन समितिमार्फत पूर्वमन्त्री तथा नेतामाथि झुटा मुद्दा लगाउने तयारी भइरहेको दाबी गर्दै सरकार विदेशी योजनाअनुसार सञ्चालन भइरहेको आशंका व्यक्त गरे ।
यस्तै, सदस्य देवी शर्माले संघीय सरकारको उद्देश्य व्यक्तिगत दुश्मनी मेट्नमा सीमित भएको आरोप लगाइन् । उनले विभिन्न दलका नेतामाथि पक्राउ तथा झुटा मुद्दा लगाउने तयारी भइरहेको बताइन् ।
बैठकमा अधिकांश सांसदहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन भएको उल्लेख गर्दै भदौ २३ र २४ गते भएका विध्वंसका घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । साथै राजधानीदेखि प्रदेशसम्म मन्त्रीहरूको घर तथा सम्पत्ति जलाउने घटनामा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।