धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले आज बिहान उनलाई लालगढबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरीका आधारमा अधिकारीमाथि निगरानी गरिएको थियो ।
सोही क्रममा उनलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।