वीरगंज । डा. स्वर्णिम वाग्ले ले नयाँ सरकारले आर्थिक रूपान्तरणलाई मुख्य एजेण्डा बनाएर काम अघि बढाइसकेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूको सुझाव सुनेपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा उनले आर्थिक रूपान्तरणकै लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी ले जनादेश प्राप्त गरेको उल्लेख गर्दै बालेन्द्र शाह नेतृत्वको सरकार सोही दिशामा अघि बढेको बताए । सरकार गठनसँगै राजस्व प्रशासनलगायत क्षेत्रमा सुधार प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै उनले “यो त कास्टिङ मात्र हो, पूरा फिल्म अझै बाँकी छ” भने ।
यसअघि रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले त्यसको पूर्ण कार्यान्वयनपछि अर्थतन्त्रका विकृति हट्ने विश्वास व्यक्त गरे। “यो सरकार अर्थतन्त्र सुधारको स्पष्ट मार्गमा छ, जनताले दिएको जनादेश सुधार र सुशासनकै लागि हो,” उनले भने ।
अर्थमन्त्री वाग्लेले विगतका सरकारले राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान गरे पनि आर्थिक क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताए । उनका अनुसार आगामी बजेट निजी क्षेत्रमैत्री र सुधारमुखी हुनेछ ।
सरकारको प्राथमिकताबारे जानकारी दिँदै उनले पहिलो प्राथमिकता सुशासन, दोस्रो मध्यम वर्गको जीवनस्तर सुधार (शिक्षा, स्वास्थ्य र वित्तीय पहुँच) र तेस्रो रोजगारी सिर्जना रहेको बताए। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको उल्लेख गर्दै उनले करको बोझ घटाउने र प्रक्रियागत झन्झट हटाउने स्पष्ट पारे ।
“निजी क्षेत्रलाई उड्न दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। आवश्यक परे ऐन–कानुन संशोधन वा खारेज गर्न पनि सरकार तयार छ,” उनले भने। साथै प्रधानमन्त्रीले जनतालाई सास्ती नभई प्रत्यक्ष राहत दिनेगरी काम गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै सरकार सोही दिशामा अघि बढ्ने बताए ।
कार्यक्रममा हरि गौतम (अध्यक्ष, वीरगंज उद्योग वाणिज्य संघ) ले पर्सा–बाराका उद्योगी–व्यवसायीले भोग्दै आएका नीतिगत तथा व्यवहारिक समस्याबारे ध्यानाकर्षण गराएका थिए । उनले उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै त्यसो नभए उद्योगी व्यवसायी देश छोड्न बाध्य हुने चेतावनी दिएका थिए ।
उनले बारा–पर्सा औद्योगिक कोरिडोरमा औद्योगिक क्षेत्र स्थापना, संघ–प्रदेश–स्थानीय तहबीचको दोहोरो कर हटाउने, भन्सार प्रक्रिया सुधार गर्ने तथा सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरे ।
हरि गौतमकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुपाल बराल, मन्त्रीका स्वकीय सचिव नवीन ढुङ्गाना, सांसद हरि पन्त तथा वीरगंज भन्सार कार्यालय का प्रमुखसहित पर्सा र बाराका उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।