रौतहटका विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा यमुनामाई गाउँपालिका–२ का सिकित नारायण, राजदेवी नगरपालिका–७ का बब्लुप्रसाद यादव, सोही स्थानका श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का रामनरेशप्रसाद पटेल र गौर नगरपालिका–८ का राजेन्द्र राउत बरै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनीहरूलाई गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत तथा वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले सरकारी कार्यालयमा सेवाग्राहीलाई छिटो काम गरिदिने बहाना बनाउँदै अनावश्यक झन्झट दिने, तानातान गर्ने, कागजात बोकेर विभिन्न फाँटमा धाउने र त्यसबापत अनुचित लाभ लिने जस्ता गतिविधि गर्दै आएको पाइएको छ । सोही आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा अनलाइन माध्यमबाट चिट चोरी गरेको भेटिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।