पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद सुशील कुमार कानु आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विभिन्न समस्याहरू बुझ्ने क्रममा पर्सागढी नगरपालिका–३, औराहाका स्थानीयहरूकाे घरदैलोमा पुगेका छन् ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, औराहाका स्थानीय बासिन्दाहरूले लामो समयदेखि लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) नहुँदा विभिन्न समस्या भोग्दै आएकाे सासद कानु समक्ष गुनासो गरेका छन् । लालपुर्जा अभावकै कारण उनीहरू दैनिक जीवनयापनदेखि लिएर बैंकिङ सेवा, घर निर्माण तथा अन्य सरकारी सुविधा प्राप्त गर्न समेत वञ्चित हुँदै आएकाे स्थानीयकाे गुनासो रहेको छ ।
स्थानीयहरूले पटक–पटक भूमि व्यवस्था कार्यालयलगायत पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो राख्दै आए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। वर्षौंदेखि निरन्तर पहल गर्दा पनि सुनुवाइ नहुँदा आफूहरू थप समस्यामा परेको उनीहरूको गुनासो छ।
स्थानीयवासीकाे समस्या सुन्दै सांसद सुशील कुमार कानुले लालपुर्जा वितरणको समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गरीब, निमुखा तथा सुकुम्बासी समुदायका समस्याप्रति गम्भीर रहेको उल्लेख गर्दै यस्ता दीर्घकालीन समस्याको स्थायी समाधानतर्फ सरकार केन्द्रित रहेको बताएका छन् ।
स्थानीयले सुख्खा माैसममा हुने पानीको अभाव र खेतबारीका लागि मलको व्यवस्थापन समयमै हुनुपर्ने बताएका थिए ।
यता सांसद कानुले यसविषयमा सम्माननिय प्रधानमन्त्री बालेन साह समक्ष गुनासो राखेको र त्यसको समाधानका लागि सरकार लागि परेको बताएका थिए ।