सप्तरी प्रहरीले छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय सञ्चालक र एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका वडा नं. १० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका वडा नं. २० हाल खडक नगरपालिका वडा नं. ७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक नगरपालिका वडा नं. ७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएका धिरेन्द्र साहसँग मोबाइल फेला परेको थियो । सो मोबाइल विद्यालय सञ्चालक चौधरी तथा उनका सहयोगीले माग्दा ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहलाई कुटपिट गरिएको थियो ।
कुटपिटपछि पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा घटना लगत्तै फरार रहेका चौधरी र मण्डललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई आत्महत्या दुरुत्साहन मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।