बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा दाजुभाइबीचको अंशसम्बन्धी विवाद चर्किँदै गएको छ ।
पारिवारिक सम्पत्तिबाट सुरु भएको विवाद अहिले हिंसा, धम्की र कानुनी झमेलासम्म पुगेपछि पीडित पक्ष सार्वजनिक रूपमा न्यायको माग गर्न बाध्य भएको छ । पीडित हासिम मियाले करिब २० बिघा पैतृक सम्पत्ति दाजु कासिम मियाले किर्ते कागजात तयार गरी आफ्नो नाममा नामसारी गरेको आरोप लगाएका छन् । उनका अनुसार आफूलाई झुक्याएर हस्ताक्षर गराइएको र आफ्नो हिस्साको माग गर्दा उल्टै आक्रमण तथा धम्कीको सामना गर्नुपरेको छ ।
विवाद चर्किँदै जाँदा बाहिरी व्यक्तिहरू लगाएर आफू र परिवारमाथि पटक–पटक कुटपिट गराइएको तथा ज्यान मार्ने धम्की दिइएको हासिम मियाको भनाइ छ । सुरक्षा अभावका कारण उनीहरू आफ्नै पैतृक घर छाडेर हाल सिमरा बजार क्षेत्रमा बस्न बाध्य भएको जनाइएको छ ।
“अंशको मुद्दा अदालतमा पुगेको छ। अदालतले न्याय देला वा नदेला त्यो आफ्नो ठाउँमा छ, तर मुद्दा टुंगो नलाग्दासम्म आफ्नै घरमा बस्ने अधिकार सुरक्षित हुनुपर्छ,” उनले भने ।
उनकी बहिनी शैरा खातुनले पनि अंश माग्दा दमन भोग्नुपरेको गुनासो गरेकी छन् । उनले इलाका प्रहरी कार्यालय सिमरामा दिएको उजुरीमाथि प्रभावकारी कारबाही नभएको आरोप लगाउँदै मुख्य आरोपितलाई पक्राउ नगरी अन्य दुई जनालाई मात्र नियन्त्रणमा लिइएको बताइन् ।
यसैबीच, मालपोत कार्यालय र वडा कार्यालयमार्फत गरिएको जग्गा नामसारी प्रक्रियामाथि पनि प्रश्न उठाएको छ । पीडित पक्षले आफू उपस्थित नभएको अवस्थामा नामसारी कसरी भयो भन्नेबारे छानबिनको माग गरेका छन् । हाल मुद्दा अदालतमा विचाराधीन रहेको र करिब ८२ कित्ता जग्गा रोक्का गरिएको जनाएको छ ।
रोक्का हुँदाहुँदै पनि जग्गा अन्य व्यक्तिको नाममा सार्ने प्रयास भइरहेको आरोप पीडित परिवारले लगाएको छ । परिवारका अन्य सदस्यहरूले मानसिक र शारीरिक असुरक्षा झेल्नुपरेको बताएका छन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार चैत ८ गते घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरिएको छ र उनीहरू हाल प्रहरी हिरासतमा रहेका छन् ।