मधेस विश्वविद्यालय अन्तर्गत रजिष्ट्रार कार्यालयमा कार्यरत प्रशासनिक कर्मचारी राजु गद्दीमाथि जिल्ला प्रहरी कार्यालय पर्साले कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पीडितले दिएको उजूरी र उपलब्ध प्रमाणहरूको आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रमाण पुष्टि भएमा थप कसूरसमेत थपिन सक्ने उनले बताएका छन् ।
गद्दीमाथि सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । उजूरी अनुसार उनले छात्रालाई अनैतिक सम्बन्धका लागि बारम्बार दबाब दिँदै आएका थिए । प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने र अस्वीकार गरेमा अङ्क घटाइदिने तथा अनुत्तीर्णसमेत गराइदिने धम्की दिएको आरोप छ ।
पीडित छात्राले प्रारम्भमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको उजूरीमा उल्लेख गरेकी छन् । प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्यमा असर पार्ने चेतावनी दिइएको दाबीसमेत उजूरीमा गरिएको छ ।
सोही आधारमा छात्राले चैत १४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमाणसहित उजूरी दर्ता गराएकी थिइन् । घटना सार्वजनिक भएपछि विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै प्रकारका दुर्व्यवहारको शिकार भएको हुन सक्ने आशंका गरिएको छ ।
शैक्षिक संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा र शैक्षिक मर्यादामाथि प्रश्न उठेको छ । यसअघि पनि उक्त विश्वविद्यालयसँग सम्बन्धित केही कर्मचारीका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए, जसले संस्थाको छविमाथि असर पारेको चर्चा भएको थियो ।