वीरगंज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा शुद्ध खानेपानीको सुविधा विस्तार गरिएको छ । केन्द्रमा आउने सेवाग्राही, आम सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको सहजताका लागि १०० लिटर क्षमताको आरओ (RO) वाटर फिल्टर कूलर जडान गरिएको हो ।
उक्त उपकरण सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइको पहलमा रुंगटा वेलफेयर सोसाइटीका प्रतिनिधि सुरेश रुंगटाको पूर्ण सहयोगमा उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
केन्द्रका अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइले सेवाग्राही तथा सुरक्षाकर्मीहरूको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै शुद्ध खानेपानीको व्यवस्था गरिएको बताए। “केन्द्रमा दैनिक रूपमा आउने सर्वसाधारण र ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको स्वास्थ्य र सुविधा हाम्रो प्राथमिकता हो,” उनले भने, “यस सहयोगले सेवा केन्द्रलाई अझ व्यवस्थित र सेवामैत्री बनाउन मद्दत पुगेको छ ।”
शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवा लिन आउने सर्वसाधारण तथा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । यसले सेवा केन्द्रको वातावरण थप सहज र व्यवस्थित बन्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यस सहयोगप्रति सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ परिवारले सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।