काठमाडौं | गृह मन्त्रालयले चार जना सहसचिव र तीन जना उपसचिवसहित सात जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले आइतबार सहसचिवहरू प्रकाश पौडेल, डा. डिजन भट्टराई, खडानन्द अधिकारी र सुमन घिमिरेको सरुवा तथा पदस्थापन गरेको हो ।
नयाँ पदस्थापनअनुसार प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा तोकिएको छ। डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा पदस्थापन गरिएको छ भने खडानन्द अधिकारीलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सुमन घिमिरेलाई भने सोही विभागबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, बैतडी र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्ण थापा र राजु प्रसाद पौडेललाई सरुवा गरी उनीहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको छ ।
त्यस्तै, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नियमित प्रशासनिक पुनर्संरचना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरुवा गरिएको जनाएको छ ।