सप्तरीका तीन छुट्टाछुट्टै स्थानमा सोमबार राति विभिन्न समयमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
घटनामा कुल ६ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ स्थित रामदेव चौधरीको टिनको छानो भएको गाईगोठमा आगलागी हुँदा गोठसहित काठपात जलेर नष्ट भएको छ । उक्त घटनाबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, महदेवा गाउँपालिका–४ मनियार प्रसाही टोल बस्ने ४० वर्षीय बैजनाथ सदाको फुसको गोठघरमा घुर (आगो) बाट अचानक आगलागी भएको हो । उक्त आगलागीमा काठपात, चामल, गहुँ तथा भैंसी–पाडी समेत जलेर नष्ट हुँदा करिब १ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया टोलस्थित ७१ वर्षीय भागवत साहको गोठघरमा घुरबाटै आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । उक्त घटनामा गोठघर, चामल, खसी, बाख्रा तथा मोटरसहितका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका सबै घटनामा स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।