महोत्तरीको बर्दिबास अस्पताललाई थाइराइड रोग पहिचान तथा उपचारका लागि आवश्यक उपकरण सहयोग गरिएको छ ।
बर्दिबास युथ क्लबले करिब २४ लाख ८६ हजार रुपैयाँ बराबरको ‘थाइराइड उपचार मेसिन’ अस्पताललाई हस्तान्तरण गरेको हो । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको मूल्य करिब २५ लाख रुपैयाँ बराबर रहेको बताइएको छ । यस उपकरणको अभावमा बर्दिबास अस्पतालमा थाइराइड परीक्षण तथा पहिचानका लागि बिरामीहरू अन्यत्र जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले सोमबार आयोजित एक कार्यक्रममा उक्त मेसिन बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अबदेखि बर्दिबास अस्पतालमै थाइराइड रोगको परीक्षण तथा उपचार सेवा सुरु हुने जानकारी दिएका छन् ।
उनीहरूले उपकरण सहयोगले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गरेका छन् ।