सर्लाहीको सदरमुकाम मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ ।
सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि बढेको जनगुनासोपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीका अनुसार मालपोत कार्यालयबाट सात जना र यातायात व्यवस्था कार्यालयबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा मालपोत कार्यालयतर्फ लेखापढी व्यवसायमा संलग्न व्यक्तिहरू रहेका छन् ।
सरकारले सरकारी कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश तथा बिचौलियाको गतिविधिमा रोक लगाउने निर्णय गरे पनि सो निर्णयको उल्लंघन गर्दै सेवाग्राहीलाई अनावश्यक सास्ती दिने तथा सहजीकरणको बहानामा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै नौ जनालाई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलङ्गवा, हरिवन र बरहथवास्थित नापी, मालपोत लगायत भीडभाड हुने कार्यालयहरूमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गर्दै आएका छन् ।
बिचौलिया नियन्त्रण अभियानअन्तर्गत कार्यालय परिसरमा “बिचौलिया प्रवेश निषेध” लेखिएका ब्यानरसमेत टाँसिएका छन् ।
प्रहरीले सेवाग्राहीलाई आफैँ उपस्थित भएर सेवा लिन तथा कसैको प्रलोभनमा नपर्न आग्रहसमेत गरेको छ ।