बिभिन्न जिल्लाका सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि पर्साका लेखापढी व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन् ।
जिल्लाका लेखापढी व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका हुन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू हडतालमा सहभागी भएका छन् ।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार आन्दोलन सुरु गरिएको हो । गत शुक्रबार पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीन जना लेखापढी व्यवसायी पक्राउ परेपछि व्यवसायीहरू आक्रोशित बनेका हुन् ।
अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई विनाकारण कार्यालय परिसरभित्र तथा बाहिरबाट समेत धरपकड र पक्राउ गरिएको आरोप लगाएका छन् । उनका अनुसार नेपाल सरकारको नियमअनुसार भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर वैधानिक रूपमा काम गरिरहेका व्यवसायीहरूमाथि विभिन्न बहानामा कारबाही हुनु खेदजनक छ । उनले पक्राउ परेका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन् ।
पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा चार सयभन्दा बढी लेखापढी व्यवसायी कार्यरत रहेका छन् ।
हडतालका कारण सेवाग्राहीहरू मारमा परेका छन् भने मालपोत, नापी लगायतका कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ।