वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान गरिएको छ ।
रुङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधि सुरेश रुंगटाको पूर्ण सहयोगमा १०० लिटर क्षमताको आरओ (RO) वाटर फिल्टर कूलर जडान गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइले जानकारी दिए ।
उनका अनुसार उक्त सहयोगले सेवा केन्द्रलाई अझ व्यवस्थित, सफा तथा सेवामैत्री बनाउन महत्वपूर्ण सहयोग पुगेको छ । स्थानीय बासिन्दाहरूले पनि उक्त पहलको स्वागत गर्दै यसले स्वच्छता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न टेवा पुग्ने बताएका छन् ।
शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवा लिन आउने सर्वसाधारण तथा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।यसले सेवा केन्द्रको वातावरण थप सहज, सुरक्षित र व्यवस्थित बन्न सहयोग पुग्ने जनाइएको छ ।
उक्त सहयोगप्रति सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ परिवारले सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ ।