मोरङबाट फैलिएको बर्डफ्लु ( एच–फाइभ एन–वान ) विभिन्न जिल्लामा देखिन थालेपछि जनकपुरधाममा कुखुरा मासुको बिक्री वितरणमा गिरावट आएको छ ।
मोरङको सुन्दरहरैचा–४ र उर्लाबारी–८ बाट सुरु भएको संक्रमण हाल ४ जिल्लाका २३ वटा फार्ममा फैलिएको जनाइएको छ । यसले उपभोक्तामा त्रास बढाउँदा कुखुरा तथा मासुको खपत घटेको व्यवसायीहरू बताउँछन् ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीका अनुसार मधेश प्रदेशमा हालसम्म बर्डफ्लु संक्रमण पुष्टि नभए पनि उच्च सतर्कता अपनाइएको छ । उनले फार्महरूमा सेनिटाइजर प्रयोग, जैविक सुरक्षा तथा स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरेका छन् ।
ज्ञवालीका अनुसार कोशी र बागमती प्रदेशबाट कुखुरा तथा मासु आयात हुने भएकाले मधेशका आठै जिल्लामा विशेष सतर्कता अपनाइएको छ । सीमा नाकाहरूमा निगरानी बढाइएको र अन्य प्रदेशबाट हुने आयातमा समेत चेकजाँच कडाइ गरिएको उनले बताए ।
पशु सेवा विभागका अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा फार्म प्रभावित भएका छन्। मोरङमा ८, झापामा २ र चितवनमा १ फार्ममा संक्रमण देखिएको छ ।
हालसम्म कुल १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ भने २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको छ । नष्ट गरिएका पन्छीमध्ये करिब ८५ प्रतिशत लेयर कुखुरा रहेका छन् ।
विभागकी सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्माका अनुसार संक्रमण फैलिन नदिन तीनै तहका सरकारबीच समन्वय गरी नियन्त्रणका उपाय अपनाइएको छ ।
विभागले बर्डफ्लु फैलिनुका प्रमुख कारणहरू पनि औंल्याएको छ । फार्म नजिकका अग्ला रुखमा बस्ने जंगली चरासँग सम्पर्क, सिमसार क्षेत्रको नजिक फार्म हुनु, जैविक सुरक्षामा लापरबाही, सवारी साधन र आगन्तुकको अनियन्त्रित आवतजावत, अण्डा राख्ने क्रेटको पुनः प्रयोग र सुरक्षात्मक उपायबिना कुखुरा तथा मासुको कारोबार गर्नु संक्रमण फैलिने मुख्य कारण हुन सक्ने जनाइएको छ ।
संक्रमणका कारण नष्ट गरिएका वस्तुका लागि किसानलाई राहत दिने व्यवस्था रहेको छ । ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड–२०७९’ अनुसार बजार मूल्यका आधारमा क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइनेछ ।
बर्डफ्लु कुखुरा, हाँस लगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल रोग हो । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क वा दूषित सामग्रीबाट सर्ने यो रोग दुर्लभ अवस्थामा मानिसमा समेत सर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
नेपालमा पहिलोपटक सन् २००९ मा झापामा बर्डफ्लु देखिएको थियो भने सन् २०१९ मा काभ्रेका एक युवाको यसै संक्रमणका कारण मृत्यु भएको थियो ।