मधेस प्रदेश सभा अन्तर्गतको अर्थ तथा योजना समितिकी सभापति अनिताकुमारी साहले आर्थिक वर्ष २०८२ को वार्षिक प्रतिवेदन पेस गरेकी छन् ।
सोमबार जनकपुरधामस्थित प्रदेश सभा भवनमा आयोजित कार्यक्रममा सभापति साहले सभामुख रामअशिष यादवसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेकी हुन् । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
पेस गरिएको प्रतिवेदनमा प्रदेशको समग्र आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएका छन् ।
समितिले आर्थिक पारदर्शिता अभिवृद्धि, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ ।
कार्यक्रममा सभामुख रामअशिष यादवले समितिले पेस गरेको प्रतिवेदनले प्रदेश सरकारलाई नीतिगत निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिवेदनमा समेटिएका सुझावहरू कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने पनि बताए ।
अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदनलाई प्रदेशको समग्र आर्थिक विकासका लागि महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।