बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा आज दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भएर तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।
सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हालसम्म मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना खुलाइएको छैन। दुर्घटनामा परेका मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बरप्लेट समेत नचिनिने अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकलहरू एकापसमा ठोक्किएपछि आगलागी भएको हो । आगलागीपछि तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक र घाइते सबै एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी भएको अनुमान गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।