बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत पर्ने सार्वजनिक तथा गोचर जग्गामा बनाइएका अवैध संरचना हटाउन सूचना जारी गरेको छ ।
उपमहानगरपालिका कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार जीतपुरस्थित पथलैया–वीरगञ्ज ६ लेन सडकको पूर्व–पश्चिम क्षेत्रमा पर्ने साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ अन्तर्गतका विभिन्न कित्तामा सार्वजनिक तथा गोचर जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको हो ।
उपमहानगरपालिकाले आगामी २०८३ बैशाख २ गतेभित्र सबै अतिक्रमित संरचना स्वेच्छाले हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाएमा बैशाख ३ गते बिहान ७ बजेपछि उपमहानगरपालिकाले आफैं हटाउने चेतावनी दिएको छ ।
यस क्रममा लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) अनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचना प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित रहेको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ ।