हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा विभिन्न भागमा मौसम आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश, कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले विशेषगरी मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारण, कृषक तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।