धनुषाको ढल्केबरस्थित मालपोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
कार्यालय प्रमुखले तीन जना कर्मचारी नियुक्ति गरेपछि स्थानीयवासीले प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै विरोध जनाएका छन् । स्थानीय रामकुमार महतोले कार्यालय प्रमुख रोहित विश्वकर्माले विगतमा बिचौलियाको रूपमा काम गर्दै आएका आफ्ना आसेपासे व्यक्तिलाई अवैध रूपमा नियुक्ति गरेको आरोप लगाएका छन् ।
उनका अनुसार करिब डेढ वर्षअघि कार्यालयले विभिन्न पाँच पदका लागि पत्रिकामार्फत सूचना प्रकाशित गरी भर्ना प्रक्रिया अघि बढाएको थियो । त्यसबेला १५० भन्दा बढी व्यक्तिले आवेदन दिएका थिए । आवेदनसँगै प्रतिव्यक्ति तीन सय रुपैयाँ राजस्वसमेत संकलन गरिएको थियो ।
महतोका अनुसार सो समयमा प्राप्त निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइएन । “न लिखित परीक्षा भयो, न मौखिक अन्तर्वार्ता नै,” उनले भने, “लामो समयसम्म कुनै निर्णय नगरी अहिले लुकिछिपी तीन जनालाई नियुक्ति गरिएको छ ।”
उनले हाल गरिएको नियुक्ति खारेज गर्न र पहिल्यै आवेदन दिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने वा निवेदकहरूले तिरेको राजस्व फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
यता कार्यालय प्रमुख विश्वकर्माले भने नियुक्ति प्रक्रिया नियमअनुसार नै गरिएको दाबी गरेका छन् । उनले कार्यालयको आवश्यकता अनुसार कर्मचारी नियुक्त गरिएको स्पष्ट पार्दै अघिल्लो आर्थिक वर्षमा परेका निवेदन सोही आर्थिक वर्षभित्र मात्र मान्य हुने र आर्थिक वर्ष समाप्त भएपछि ती निवेदन स्वतः खारेज हुने बताए ।